आयात खुकुलो बनाउन राष्ट्र बैंकको पहल, एलसीको सीमा बढ्यो

काठमाडौं, साउन २३ ।  राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाउन प्रतीतपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु ३ करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो।

‘एक पटकमा अधिकतम अमेरिकी डलर ६० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिनेछ। यस व्यवस्थाबमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपछि सोही निर्यातकर्ताबाट अर्को सिपमेन्टको वस्तु आयातका लागि सटही सुविधा प्राप्त गर्न तोकिएको सर्त पूरा गर्नुपर्नेछ’, राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै उल्लेख गरेको छ।

भारतबाट हुने आयातको हकमा यस्तो सीमा भारु ३ करोडसम्म हुनेछ। एलसीको सीमा बढे पनि अहिले केही सर्त राखिएका छन्। संशोधित व्यवस्थाअनुसार अघिल्लो पटक सटही सुविधा प्राप्त गरी आयात भएको सात दिन व्यतीत भएपछि मात्र अर्को सटही सुविधा पाइनेछ।

अर्को पटकको सटही सुविधा पाउनका लागि अघिल्लो प्रतितपत्रअनुसार वस्तु आयात भएको प्रमाणको रुपमा भन्सार कार्यालयले प्रमाणित गरेको फारम, भन्सार प्रज्ञापनपत्र तथा भन्सार राजस्व भुक्तानी भएको रसिद सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पेस गर्नुपर्नेछ।

त्यस्तै, अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताले यी कागजातका अतिरिक्त सात दिन व्यतीत भएकोसम्बन्धी स्वघोषणासमेत पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्