विद्यार्थी भर्ना अभियान: प्रधानमन्त्रीदेखि कलाकारसम्म सहभागी
काठमाडौं। विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले अभिभावकत्व ग्रहण गरेका हुन् । बालबालिकालाई विद्यालय ल्याउन प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानका क्रममा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका हुन् ।
१ वैशाखमा प्रधानमन्त्री तथा मन्त्रीहरूले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई जिम्मा लिएर भर्ना गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री, सांसद तथा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका छन् ।
बालबालिकालाई विद्यालय ल्याउन सरकारले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ प्रधानमन्त्रीको नेतृत्वमा भर्ना अभियान सञ्चालन गरिएको हो । कलाकारहरूसमेत भर्ना अभियानमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्