खोलामा नुहाउन जाँदा विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु

काठमाडौं, साउन ७ ।  देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीको सियारी गाउँपालिका-१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका-१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ गणेश मन्दीरस्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ डेरा गरी बस्ने रुकुम (पुर्वी) भूमी गाउँपालिका काँडागाउँ घर भएका ३९ वर्षिय जगेन्द्र बुढामगरको शनिबार साँझ मृत्यु भएको छ ।

उता कैलालीको बर्दगोरिया गाउँपालिका-३ बुटकुवा बस्ने ८ वर्षीया यमुना सापकोटाको सोही ठाउँस्थित काडा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका-६ बस्ने ६० वर्षीय बिरे कठायतको सोही ठाउँस्थित नाला तर्ने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका-८ बस्ने १६ वर्षीय विवेक कुँवरको शनिबार साँझ मृत्यु भएको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-७ ज्ञानज्योती टोल डेरा गरी बस्ने रुकुम आठबिसकोट नगरपालिका-५ घर भएका दल बहादुर बुढाको छोरा ६ वर्षिय निर्माण बुढाको सोही ठाउँस्थित ग्वारखोलामा सिचाईको बाँधमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै डुबेर अशक्त भएका मृतकका आफ्नै दाइ १२ वर्षीय बिश्वास बुढाको सोही अस्पतालमा उपचार भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्