मौद्रिक नीतिः शेयर तथा घरजग्गा कर्जाको जेखिमभार पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं, साउन ७ ।  नेपाल राष्ट्र बैंकले शेयर तथा जग्गा धिताे कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

“शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,” केन्द्रिय बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ।

केन्द्रिय बैंकले यसअघि शेयर कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो। यसले गर्दा बैंकहरुको पूँजीकोषमा समेत दबाव परेको थियो।

यसले गर्दा यी क्षेत्रहरुमा बढाइएको जोखिमभारमा पुनरावलोकन गर्दै केहि घटाउने संकेत गरेको छ।

बैंकले चालु आर्थिक वर्षमा मुल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने बताएको छ ।

चालु आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो लक्ष्य राखेको केन्द्रिय बैंकले बताएकाे हो । मौद्रिक नीतिमा भनिएको छ, ‘मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने छ।’

अधिक मूल्यवृद्धिको जोखिम कायमै रहेकाले यदि यो लक्ष्यमा चुनौती भएमा मुद्रा परिचालनलाई सीमित पारिने नीतिमा उल्लेख गरिएको छ।

त्यस्तै राष्ट्र बैंकले चालु वर्षका लागि निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशतमा सीमित राख्ने पनि उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्