नीतिगत दर घट्यो, बैंकदर यथावत्, विदेश जाँदा अब २ हजार ५०० डलर साट्न पाइने

काठमाडौं, साउन ७ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ ।

“आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ ६.५ प्रतिशत कायम गरिएको छ,” मौद्रिक नीतिमा उल्लेख छ ।

यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखिएको छ । निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

विदेश जानेले अब थप १ हजार डलर सटही सुविधा पाउने भएका छन्।अहिलेसम्म १ हजार ५ सय डलर साट्न पाउने भएकोमा अब २ हजार ५ सय सटही सुविधाको व्यवस्था गरिएको हो।

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै भनेको छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ।’

हालसम्म एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था थियो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८० /८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ ।

कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिमा टेवा पुग्ने गरी व्यवस्था गरेको हो ।

यस्तै, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गर्ने भएको छ । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अङ्कुशका रुपमा यथावत राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यका रुपमा यथावत राखिएको छ । मौद्रिक नीतिले सञ्चालन लक्ष्यको स्थितिको आधारमा सक्रिय रुपमा खुला बजार कारोबार सञ्चालन गरी अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरभित्र राख्ने लक्ष्य राखेको छ ।

यस्तै, मुद्रास्फीतिलाई छ दशमलव पाँच प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

सरकारको चालु आवको वार्षिक बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता केन्द्रीय बैंकले तय गरेको छ ।

यस्तै, चालु आवमा विस्तृत मुद्राप्रदाय १२ दशमलव पाँच प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्