नेपालको शिक्षा समयानुकूल भएन : सांसद भण्डारी
काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समयानुकूल नभएको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए ।
उनले नेपालको समयानुकूल शिक्षा नीति नहुँदा विद्यार्थीहरू विदेश पलायन भइरहेको बताए । उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनाती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “हाम्रो नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि गर्न सकेन । नभन्दै अहिले हाम्रा युवाहरू बाहिर जान्छन्, त्यही शिक्षाको परिणाम हो यो ।”
उनले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गरे । उनले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्