कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

काठमाडौं, साउन २ ।  सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ ।

आज (मंगलबार) देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यलाई असार महिनामा पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् ।

उनले अरू ११ महिना नै पार्टी नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका छन् । असार महिना बढी पानी पर्ने, बाढी पहिरोको प्रकोप हुने र किसानले खेती लगाउने समय भएको भन्दै उनले पार्टी नेता–कार्यकर्ताले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अफ्ठेरो परेको बेलामा तयारी हुन्छौं । केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनु हुन्छ । त्यो बाहेक समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि उहाँहरू विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ ।’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गरेका छन् । त्यस्तै समितिले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । आगामी एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।

महामन्त्री थापाले थपे, ‘‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रम बनाएर कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरको गतिविधिको प्रगति विवरण ६र६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने । समितिले पूर्णता पाउन सकेका छैनन् । भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो । साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर घर जाऊँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान सुरु हुन्छ । यो अभियानमा कम्तीमा पाँच लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्नेछ ।’ पार्टीका सबै दस्ताबेज डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि उहाँको प्रस्ताव छ । यसको निम्ति काम भइरहेको महामन्त्री थापाले उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्