यी हुन् कांग्रेसका प्रस्तावित २२ विभाग, पार्टी सदस्यता बढाएर ८ लाखबाट १४ लाख पुर्‍याउने (प्रतिवेदन)

काठमाडौं, साउन २ ।  नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले सोमबारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव पेस गरेका हुन् ।

कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको हो ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सदस्यता विस्तार अभियानलाई तीव्रता दिने भएको छ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा पेश गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

कांग्रेसले कम्तीमा पनि ५ लाख नयाँ पार्टी सदस्य थप्ने योजनासहित ‘घरघर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने भएको हो।

थापाले बैठकमा आगामी २० साउन देखि ३१ असार २०८१ सम्मका लागि पार्टी सदस्यता विस्तार अभियान चलाउने योजनासहित प्रस्ताव गरेका हुन्।

महामन्त्री थापाले यो अभियान अन्तर्गत ५ लाखदेखि ७ लाख नयाँ सदस्य थप्ने योजना पनि अघि सारेका छन्।

यसअघि २४ मंसिर २०७८ देखि भएको १४ औँ महाधिवेशनसम्म कांग्रेसका क्रियाशील सदस्य ८ लाख ६६ हजार रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।

अब उक्त संख्यालाई बढाएर कांग्रेसले कम्तीमा पनि १४ लाख आसपास पुर्‍याउने गरी योजना अघि सारेको हो।

यस्तो छ योजना

यसअघि १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेकाको क्रियाशील सदस्यता कार्ड साउन महिनाभित्र सदस्यहलाई उपलब्ध गराउने गरी कार्य गर्ने।

विधान बमोजिम हरेक वर्ष नवीकरण गर्नुपर्ने क्रियाशील सदस्यता नियमित रुपमा नविकरण गर्न भदौ, असोज र कार्तिकमा नविकरण अभियान संचालन गर्ने।

क्रियाशील सदस्यता वितरण वर्षभरी नै निरन्तर गर्ने। अधिवेशनको वर्षमा विधानतः अधिवेशन पूर्वको ६ महिना क्रियाशील सदस्यता वितरण नगर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने।

कांग्रेस सदस्यता वितरणलाई अनलाइनमार्फत प्रदान गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने।

संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्न सदस्यता वितरणमा नै समाजको विविधता झल्कने गरी अभ्यास गर्न यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर-घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गरिने छ। एक वर्षको अवधिमा कम्तीमा ५ देखि ७ लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ यो अभियान गरिने छ।

प्रतिक्रिया दिनुहोस्