सानिमा बैंकले पायो आईएसओ २७००१ प्रमाणपत्र

काठमाडौं, असार ३१ ।  सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१:२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि याे प्रमाणपत्र प्रदान गरिएकाे विज्ञप्तिमा जनाइएकाे छ ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैँ प्राथमिकतामा राखेको बताएकाे छ । यो प्रमाणीकरणले सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा महत्त्वपूर्ण कोसेढुङ्गा थपिएकाे विज्ञप्तिमा उल्लेख छ ।

‘आईएसओ प्रमाणीकरणले ग्राहकको डाटा अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित रहेको देखाउँछ र यसले बैंकप्रतिको विश्वास बलियाे बनाउँछ’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्