घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला
काठमाडौं, असार २२ । घोराही सिमेन्टले प्राथमिक सेयर (आईपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आईपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा सबै आईपीओ बिक्री नभए असार ३१ गतेसम्म आईपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि आईपीओमा आवेदन दिएका लगानीकर्ताहरूले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आईपीओ बिक्री खुला गरेको जनाएको छ ।
यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो । कम्पनीले आईपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।
कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो ।
तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आईपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।
घोराही सिमेन्टको आईपीओ प्रक्रिया स्थगित हुँदासम्म सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको थियो । सीडीएसीको तथ्यांक अनुसार आईपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आईपीओ जारी गरेको हो । जसअनुसार यस आईपीओमा ९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ता अर्थात् ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको सीडीएसको भनाई छ ।
यसरी कूल परेको आवेदनबाट फर्जी घटाउँदा पनि करिब ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँभन्दा बढी सर्वसाधारणको पैसा ब्लक भएको देखिन्छ । तथापि, उक्त रकममा केही तलमाथि हुन सक्ने सीडीएसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्