एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

काठमाडौं, असार १४ ।  एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई साढे ६ अर्ब ऋण स्वीकृत गरेको छ।

मुख्य दातामध्येको एडीबीले नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्चिने गरी ५ करोड डलर (झन्डै ६ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको हो।

सरकारले लिएको जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्ष्यमा यो सहायता उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ।

व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउने र यसले समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान सहयोग गर्ने एडीबीका दक्षिण एसिया विभाग निर्देशक थियाम ही एनजीले बताए।

सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न सघाउने अपेक्षा उनले गरे। सहायताले भन्सार प्रशासनलाई डिजिटल प्रविधिमा लैजान भूमिका खेल्ने एडिबीको विश्वास छ।

सरकारले कार्यान्वयनमा ल्याएको भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा यो ऋण उपयोग हुनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्