शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

काठमाडौं , असार ११ ।  हिजो आइतवार ६२ अङ्कले बढेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६९ अङ्कले बढेर दुई हजार एक सय २९ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, बीमा, अन्य र व्यापार समूहको शेयर घटेको छ भने अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो साढे छ अर्ब रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७९ वटा कम्पनीका एक करोड १९ लाख तीन हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालय लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशत र विन नेपाल लघुवित्तको शेयर छ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्