नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड
काठमाडौं, असार ११ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले बिहान १० बजे आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीको उक्त आइपिओमा १२ लाख ९९ हजार ७२७ आवेदकबाट १ करोड ४१ लाख ९ हजार ५६० कित्ताको लागि आवेदन दिएका छन्। यस आइपिओमा माग भन्दा ३.७ गुणा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट भएको हो।
प्राप्त भएको आईपीओमध्ये १२ लाख २७ हजार ५६९ आवेदकको १ करोड ३२ लाख ४१ हजार ८२० कित्ता सदर भएको छ भने बाँकी बदर भएको छ।
सदर भएको आईपीओमा ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तिनै भाग्यमानी आवेदकमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्। यो आईपीओमा करिब ८ लाख ६५ हजार ५८० आवेदकको हात खाली भएको छ।
यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो।
यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, धितोपत्र निष्कासन गर्ने कम्पनी र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्