शेयर बजारमा ६२ अंकले वृद्धि, कारोबार पाँच महिनायताकै उच्च

काठमाडौं, असार १० ।  हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर हरियाली भएको छ ।

शेयर बजार परिसूचक नेप्से आइतबार ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ ।
आइतबार नेप्से गएको फागुन १० गते यताकै उच्च विन्दुमा पुगेको हो । फागुन १० गते नेप्से २१ सय २१ विन्दुमा थियो । आज सबै समूहको शेयर बढदा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लाग्यो ।

आइतबार कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ । आइतबार दुई सय ७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता शेयर छ अर्ब ४९ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । गएको पुसको २६ गतेपछि ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन । आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ४९ करोड ९० लाख र सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आइतबार सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्सुरेन्स, साम्लिङ पावर कम्पनी, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, शिवम् सिमेन्ट र एनएमबी ५० म्युचुअल फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार हरियाली भएको दिन आज सबैभन्दा धेरै शुभम पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्