काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट
काठमाडौं, असार १० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ। यो चालु आ.व.को भन्दा १३ करोडले धेरै हो।
आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।
उपप्रमुख डंगोलले यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याएकी छन्। त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको उनले बताइन्।
महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो।
त्यस्तै महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।
काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । तर कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन ।
काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।
यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन समेत गरिने छ ।
प्रतिक्रिया दिनुहोस्