अदालतले आदेश दिए पनि नेपालमा ‘आदिपुरुष’ प्रदर्शन नहुने

काठमाडौं , असार ८ ।  उच्च अदालत पाटनले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिएको कुनै पनि फिल्मलाई नरोक्न विहीबार अल्पकालीन अन्तरिम आदेश दिएपनि भारतीय फिल्म ‘आदिपुरुष’ नेपालमा प्रदर्शन नहुने भएको छ ।

नेपाल वितरक कम्पनी व्यंकटेस इन्टरटेनमेन्टले फिल्मलाई अब प्रदर्शन नगर्ने बताएको छ । फिल्म बारे विवाद भएपछि वितरकले नै यसअघि नेपालभर प्रदर्शन रोकेका थिए ।

अदालतको आदेशपछि अन्य हिन्दी फिल्म भने अब काठमाडौँमा प्रदर्शन हुने भएका छन् । विहिबार देखि काठमाडौँक हलहरुले भारतीय फिल्म जरा हटके जरा बचके रिलिज गरेका छन् ।

‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवाद संशोधन नगरेको भन्दै सोमबारदेखि काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारभित्रका हलमा सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शन रोकेको थियो । यसैलाई पछ्याउदै पोखरा र धरान लगायतका ठाउमा पनि फिल्मको प्रदर्शन रोकिएको थियो । यसपछि नेपाल चलचित्र संघले भारतीय फिल्मको प्रदर्शन नरोक्न माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो ।

संघको रिट निवेदनमा बिहीबार भएको सुनुवाईमा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका फिल्म नरोक्न आदेश जारी गरेको हो । तर, काठमाडौं महानगरका प्रमुख बालेन शाहले अदालतको आदेश नमान्ने बताउँदै कुनै भारतीय फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन् । उनले अदालत र सरकारलाई भारतको गुलाम भन्दै जस्तो सजाय भोग्न पनि तयार हुने तर फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्