चिनियाँ राजदूतले भनेः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको परियोजना हो

काठमाडौं , असार ६ ।  चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत भएको दोहो¥याएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले विमानस्थल बीआरआई परियोजना अन्तर्गत भएको बताए।

यसअघि गत जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेलामा पनि नेपालस्थित चिनियाँ दुतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत भएको बताएको थियो। नेपाली पक्षले भने बीआरआई अन्तर्गत कुनैपनि परियोजनामा अहिलेसम्म कुनैपनि सन्धी नभएको बताउँदै आएको छ।

बुधबार चीनको छेन्दुबाट पोखरा आएको पहिलो सिचुआन एयरलाइन्सको चार्टर उडान अवतरण भएपछिको कार्यक्रममा राजदूत सोङले विमानस्थल चीनका इन्जिनियरहरुले डिजाईन गरेको बताए। ‘विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो,’ उनले भने, ‘हामीले यो अन्तर्राष्ट्रिय चार्टर्ड उडान सफलतापूर्वक अवतरण गरेका छौ। नेपाल र चीनबीचको सञ्जाल बिस्तारमा नयाँ अध्याय सुरु भएको छ । यो बीआरआई अन्तर्गतको परियोजना हो।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत परेको थियो। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिएको थियो। पोखराको यो विमानस्थल चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाएको हो।

प्रतिक्रिया दिनुहोस्