सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ, जेठ १७ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चारसय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत वैशाख २१ गते उच्च मूल्य बनाएको सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौसय ५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज सुनको मूल्यमा एकहजार पाँच सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्