विश्व सुर्तीजन्य पदार्थ रहित दिवसः “हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन”
काठमाडौं, १६ जेष्ठ । हरेक वर्ष मे ३१ मा विश्वभरी नै “विश्व सुर्तीजन्य पदार्थ रहित दिवस” मनाउने गरिन्छ । यस वर्ष पनि विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अन्तर्रष्ट्रिय नाराf “We need food, not tobacco” रहेको छ भने नेपालमा ३१ मे २०२३ (तदनुसार २०८० जेठ १७ गते) “हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन” भन्ने नेपाली नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दीगो विकास लक्ष्य प्राप्त गर्न नेपालको प्रतिबद्धता अनुरुप सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (WHO Framework Convention on Tobacco Control ,WHO FCTC) कार्यान्वयनलाई तीव्रता दिन आवश्यक छ । यसले सुर्तीजन्य पदार्थको माग र आपूर्ति न्यूनीकरणको लागि सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि lGw (WHO FCTC) का प्रावधानहरूको कार्यान्वयनलाई जोड दिन्छ । मन्त्रिपरिषद्ले अनुमोदन गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्य योजना २०२१–२०२५ ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्ष माथिका मानिसहरुमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३०% सापेक्षिक कमी ल्याउन आह्वान गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालद्वारा गरिएको NCD STEPS सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । ती मध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुम्रपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । नेपालमा हरेक वर्ष २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवण शक्ति कम्जोर हुने जस्ता स्वास्थ्य समस्या हुन्छन् । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर लगायतका स्वास्थ्य जोखिम बढाउँछ ।
विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा २२.३% मानिसहरु सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाहरुको (७.८%) तुलनामा पुरुषहरुमा (३६.७%) बढी हुने गरेको छ । STEPS survey २०१९ अनुसार नेपालमा २८.९% मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ र ४८.३% पुरुष र ११.६% महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
यस वर्षको नाराले कुपोषणको समस्यालाई ध्यानमा राख्दै खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्न वैकल्पिक र दिगो खेतीका लागि नीति र रणनीतिहरू विकास गर्ने विषयमा राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ । सुर्तीजन्य पदार्थको खेती गर्दा, उत्पादनको क्रममा र प्रयोग पश्चात उत्सर्जन हुने फोहरले जल, वायु र जमिन प्रदूषित हुन्छ र मानव स्वास्थ्यको साथै समग्र वातावरणमा प्रतिकुल प्रभाव पार्दछ । यी समस्याहरुको सम्बोधन गर्न सरोकारवाला सबैको भूमिको विषयलाई जोड दिंदै सुर्तीजन्य पदार्थको खेती, उत्पादन र प्रयोगलाई निरुत्साहित गर्न आवश्यक छ ।
सुर्तीजन्य पदार्थको महामारीलाई सम्बोधन गर्न नेपालले सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (WHO FCTC) मा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरेको र सन् २००६ नोभेम्बर ७ मा अनुमोदन गरी सन् २००७ फेब्रुअरी ५ देखि सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (WHO FCTC) को पक्ष राष्ट्र बनेको हो ।
सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (WHO FCTC) को आधारमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण लक्षित कानून र प्रक्रियात्मक दस्तावेजहरू तयार गरी कार्यान्वयनमा ल्याएको छ । कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहर केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाइने व्यवस्था रहेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थ बिक्रेताले अठार बर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाउने र चुरोट तथा बिडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था रहेको छ । संघ, प्रदेश र स्थानीय तहमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित कानून र नियमको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक छ । प्रत्येक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको निरीक्षक तोकिएको छ ।
सुर्तीजन्य पदार्थको हानिकारक असर तथा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धि सचेतना कार्यक्रम तथा प्रवद्र्धनात्मक कार्यक्रम गर्न स्थानीय तह, प्रादेशिक तह र संघिय तहमा समन्वय र पैरवी गर्दै आइएको छ । स्वास्थ्यकर्मीहरुका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि क्षमता अभिवृद्घि तालिम संचालन गरिँदै आइएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्यकर्मीहरुका लागि सुर्तीजन्य पदार्थको लत त्याग्न चाहने व्यक्तिहरुलाई मद्दत गर्न सहयोग (Brief tobacco intervention) तालिम संचालन गरिएको छ । सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणको लागि तीनै तहमा विद्यालय स्वास्थ्य शिक्षा, सरोकारवालाहरु सँग अन्तक्रिया कार्यत्रमहरु, आमसञ्चार कार्यक्रमहरु थप व्यापक गर्दै लौजान आवश्यक छ ।
सुर्तीजन्य पदार्थको असरहरुलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानून, नियमावली र निर्देशिका पारित भई लागु भइसकेको अवस्थामा यी प्रावधनहरुको कडाईका साथ लागु गरी सुर्तीजन्य पदार्थबाट हुने असरलाई न्यूनीकरण गर्न अपरिहार्य बनेको छ । सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र विक्रि वितरणलाई नियमन गर्न आवश्यक छ । नेपालको वर्तमान आर्थिक परिप्रेक्ष्य र कोभिड–१९ को महामारीले विश्वभर निम्त्याएको आर्थिक सङ्कटको परिस्थितिको विकल्पको रुपमा सुर्तीजन्य पदार्थमा कर बढाउनालेTriple Win Policy को काम गर्दछ ।
सुर्तीजन्य पदार्थको खेती, उत्पादन, विक्रि वितरण र प्रयोगबाट मानव स्वास्थ्यको साथै समग्र वातावरणमा हुने प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ रहित दिवसलाई अभियानका रुपमा वर्षैभरी सञ्चालन गर्न आवश्यक छ । सुर्तीजन्य पदार्थको यो साझा समस्याको सम्बोधन गर्न संघ, प्रदेश र स्थानीय तह, राजनितिक नेतृत्व,गैरसरकारी संस्था, नागरिक समाज, संचारकर्मी, निजि क्षेत्र र सम्पूर्ण नागरिकको भूमिका आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्