आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेः स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौं । आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

मन्त्री पोखरेलले बोल्दै , “नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व छ । हामीले संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती ग¥यौँ अब बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस पनि मनाउने प्रस्ताव लैजानुपर्छ ।”

योगाभ्यास र पञ्चकर्मबारे सबैलाई सेवा दिनका लागि बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ । आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण लागिएको हो ।

सामान्य जनतादेखि विशिष्ट, अति विशष्टि व्यक्तिसम्मका लागि बन्ने ठूलो योग सेन्टरमा अहिले प्रशासनिक भवन बन्दैछ, जसका लागि रु १ करोड ५० लाख छुट्याइएको छ, अन्य भवनका लागि नक्साङ्कन भइरहेको छ । पूरै भवनका लागि गुरुयोजना बनाउन लागिएको र यसका लागि करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।

उक्त सेन्टरमा स्वास्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतको सेवा दिई नसर्ने रोगबारे कार्यक्रम हुने बताइएको छ ।

स्वास्थ्यमन्त्री पोखरेलले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बिरामीलाई फलफूल वितरणसमेत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्