नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसमा प्रष्ट दुई धार

काठमाडौं, जेठ ४ ।  नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर कांग्रेस नेताहरु दुई धारका रुपमा देखा परेका छन् । खासगरी वालकृष्ण खाँण अनुसन्धानमा तानिएपछि कांग्रेस नेताहरु खाँणको बचाउ र दोषी भए बोक्न नसकिने भनी प्रष्ट रुपमा दुई धारका रुपमा देखा परेका हुन् ।

कांग्रेस भित्रको दुई धारलाई कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार गरेको एउटा ट्वीटले अझ प्रष्ट रुपमा सार्वजनिक गरिदिएको छ । नक्कली भुटानी शरणार्थीमा पक्राउ परेकाहरुको भारी पार्टीले बोक्न नहुने उनको भनाइ छ ।

‘पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु– गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन’ मंगलबार साँझ महामन्त्री थापाले ट्वीट गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिको निजी विषय रहेको बताएका हुन् । महामन्त्री थापाले मुद्दा लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने र अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने पनि बताएका छन् ।

पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने बताएका छन्, । ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो– अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो’ महामन्त्री थापाले भनेका छन् ।

त्यसअघि अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय सदस्य खाणलाई निलम्बन नगर्ने प्रस्टीकरण दिएका थिए । त्यसलगत्तै महामन्त्री थापाले साँझ विज्ञप्ति निकालेर आरोप लागेकाले खाणलाई निलम्बन गर्नुपर्ने बताएका हुन् ।

डा महतले पत्रकारहरूसँग निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउन नहुने बताएका थिए । केन्द्रीय सदस्य खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने दाबी गरेको उल्लेख गर्दै उनले भनेका थिए, ‘त्यसैले खाणजीको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको हो ।’

नेकपा एमालेका का निलम्बित सचिव एवं तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेता खाणमाथि लागेको अभियोगको प्रकृति फरक रहेको महतको तर्क छ । अनुसन्धानको निष्कर्ष आएपछि खाँणबारे मात्रै पार्टीको औपचारिक धारणा आउने उनले बताएका छन् ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निरन्तर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै आएका छन् ।

मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताउँदै उनले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका छन् ।

‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्