जेठदेखि कर्जाको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय
काठमाडौं, बैशाख २८ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । हाल बसिरहेको संघको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो ।
संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ । जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’
केसीले विषेशगरी २ वटा कारणले गर्दा कर्जाको ब्याज घट्ने अवस्था आएको बताए । वैशाखदेखि लागू भइसकेको निक्षेपको ब्याज घटेको कारण र स्प्रेडदर घटाउँदै लग्नुपर्ने व्यवस्थाका कारण समेत ब्याज घट्ने उनले बताए । बैंकर्स संघले वैशाखदेखि लागू हुने गरेर निक्षेपको ब्याज एकल अङ्कमा झारेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९.९९ प्रतिशत र मुद्दती निक्षेपको ब्याज ७.९९ प्रतिशतमा झारेको थियो ।
निक्षेपको ब्याज घटेकै कारण कर्जाको ब्याजदर घट्ने भएको हो । जेठदेखि कर्जाको ब्याज घट्ने भए पनि कति घट्ने भन्ने विषयमा बैंकले सूची सार्वजनिक भने गरिसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्