अन्तर्राष्ट्रिय विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, थप सहयोगको आग्रह
काठमाडौं , बैशाख २८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन्।
छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्वीट्जरल्यान्ड, नर्वे, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्वपक्षीय विकास साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको मन्त्री महतको सचिवालयले जनाएको छ।
छलफलमा अर्थमन्त्री डा. महतले सरकारका आगामी दिनका प्राथमिकता, आगामी बजेटले लिने मार्गदर्शन, सिद्धान्तका विषयमा धारणा राखे। उनले सरकारले उपलब्ध साधन–स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारको ऋण बढ्दो क्रममा रहेको सन्दर्भमा आगामी दिनमा साँवाब्याज तिर्न सक्ने खालका उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्राथमिकता रहेको जानकारी उनले विकास साझेदारलाई गराए। उनले आगामी दिनमा सिर्जना हुने दायित्वका विषयमा सरकार सजग रहेकोसमेत बताए।
डा. महतले वैदेशिक ऋणसँगै उल्लेख्य रुपमा अनुदान उपलब्ध गराउन र जलवायु परिवर्तनको कारक नेपाल नभएको हुँदा यस क्षेत्रमा आउने सहायता पनि अनुदानकै रुपमा परिचालन गर्न आग्रह गरे। छलफलमा विकास साझेदारबाट प्राप्त सुझाव, सल्लाहलाई यथोचित ध्यान दिने विश्वास उनले दिलाए।
अन्तर्राष्ट्रिय विकास साझेदारका प्रमुख एवं प्रतिनिधिले नेपाल सरकारले बजेटमा लिने प्राथमिकता र कार्यक्रममा साथ, सहयोग र समर्थन हुने विश्वास दिलाएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्