अर्थतन्त्र चलायमान बनाउन ब्याजदर घटाउँछौं : अर्थमन्त्री महत

काठमाडौँ , बैशाख २६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने प्रतिबद्धता जनाएका छन्।

मंगलबार राष्ट्रिय सभामा आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन्।

उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेकाले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे। मन्त्री महतले सांसदले उठाएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसात् गरिने विश्वास दिलाए।

उनले भने, ‘आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभई समावेशी हुने गरी आगामी बजेट तय हुनेछ। वैदेशिक सहायता कम भएको सन्दर्भमा स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिनेछ।’

राजस्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने मन्त्री महतले उल्लेख गरे।

विदेशी सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने जिकिर गर्दै उनले प्रभावकारी ढंगबाट खर्चिने व्यवस्था गरिने विश्वास दिलाए।

प्रतिक्रिया दिनुहोस्