राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख, छातीबाट फेरि निकालियो पानी
काठमाडौं, बैशाख १३ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीबाट फेरि पानी निकालिएको छ । भारतको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा उपचाररत पौडेलको बाँया छातीको तल्लो भागमा जमेको पानी मंगलबार बिहान निकालिएको हो । १२५ एमएल पानी निकालिएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।
‘राष्ट्रपति ज्यूको छातीको तल्लो भागमा जमेको पानी सुकाउनका लागि एम्स अस्पतालले पनि एन्टिबायोटिक नै दिएको थियो तर सुकेन,’ स्रोतले भन्यो, ‘हिजो फेरि १२५ एमएल पानी निकालिएको छ । अब बाँकी रहेको थोरै पानी चाहिँ औषधीले सुकाउला भन्ने छ ।’
राष्ट्रपति पौडेलको स्वास्थ्य अहिले सुधारोन्मुख रहेको छ । अस्पलालले चार–पाँच दिनमा डिस्चार्ज गर्ने योजना बनाएको स्रोतले जानकारी दिएको छ । एन्टिबायोटिकका कारण शारीरिक रूपमा केही शिथिलता देखिएको छ । तर सामान्य हिँडडुल गर्ने, कुराकानी गर्ने र खाना खाने भने गरेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्