गोकर्णेश्वरमा पाँच दिनसम्म चल्ने कान्तिभैरव जात्रा सम्पन्न

काठमाडौँ, ११ बैशाख । गोकर्णेश्वर नगर क्षेत्रमा लिच्छवीकालदेखि चल्दै आएको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको कान्तिभैरव जात्रा सम्पन्न भएकोछ ।
वैशाख कृष्ण चतुर्दशी (आमाको मुख हेर्ने दिन)देखि वैशाख शुक्ल तृतीया अर्थात (अक्षय तृतीया) ५ दिनसम्म चल्ने यो जात्रा श्रीभैरव, श्रीकुमार र श्रीगणेशको मूर्तिलाई आकर्षकरूपमा सिङ्गारी तीनतले खटमा विराजमान गराई तीनवटा रथलाई धार्मिक विधिपूर्वक पूजा–आजागरि, बाजागाजा, गीत र नाचगानकासाथ टोल परिक्रमा गरि आइतबार भैरवकान्ति जात्रा सम्पन्न भएको हो ।

वैशाख कृष्ण चतुर्दशीका दिन जात्रा क्षेत्रमा सरसफाई ध्वजापतकाले शहरलाई सिंगारगरि गरि मध्यरातमा श्रीभैरव, श्रीगणेश र श्रीकुमारको तान्त्रिक विधिअनुसार पूजा गरि जात्रालाई जगाउने प्रचलन रहेको र तीनै देवताका रथलाई पुनः सिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा परिक्रमा गरिन्छ । औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमार एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि क्रान्ति भैरव वैशाख शुक्ल प्रतिपदाका दिन पूजा गरेपछि मात्रै रथ उठाइने वडा अध्यक्ष जयराम महतले बताउनुभयो ।

आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पु¥याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास रहेकोछ । रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीलगायतका स्थानमा पनि बलिसहित पूजा गरिन्छ। सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात लाछीमा लगी राखिन्छ । श्रीगणेश र श्रीकुमारको रथ पनि त्यहाँ सिङ्गारेर राखिएको हुन्छ।

चतुर्दशीका दिन बिहान गुठियारले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन्। गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन्। साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ।
यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ। निकालिएको मूर्तिलाई गुठियारबाट बलि चढाइ पूजा गरिन्छ। स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ। सिङ्गारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइ बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा परिक्रमा गरिने प्रचलन रहेको वडाध्यक्ष महतले बताउनुभयो ।

भातको देवता अर्थात भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक÷एक पाथीे भातको देवता बनाउँछन् । पाक्दापाक्तैको भातलाई झिकेर गुठियारले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको महतले बताउनुभयो ।
मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्राको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन्। जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको छ ।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागीबीचमा तछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ । गोकर्णेश्वर नगरपालिका ४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइने प्रचलन छ ।

यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजूरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ। यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयले आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन समेत भएको उहाँले बताउनुभयो । वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ। वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुने उहाँले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालले कान्तिभैरब जात्रा संचालन र संरक्षणलाई पूर्ण सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । यसका लागि बजेट र अन्य व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ । यस्ता ऐतिहासिक, धार्मिक र परम्परागत रुपमा चल्दै आएका जात्रा तथा चार्डपर्वलाई निरन्तरता दिन र संरक्षण गर्न नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैंकुण्ठ प्रसाद सापकोटाले नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक क्षेत्रको दिगो विकास गर्दै सञ्चालनमा रहेका साँस्कृतिक सम्पदाहरुको संरक्षण, पहिचान तथा बिकास गर्न आर्थिकलगायत सबै किसिमका सहयोग पालिकाले गर्दै आएको र गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नगरक्षेत्रमा रहेका सबै धार्मिक मठमन्दिर, ऐतिहासिक धरोहर, धार्मिक परम्परागत जात्रालगायत सबै निकायलाई संरक्षण र प्रवद्र्धन गर्ने पक्षमा रहेका छौं । त्यसको लागि नगरपालिकाबाट हुने सबै किसिमका सहयोग हुन्छ । सांस्कृतिक सम्पदाको संरक्षण गर्ने पालिकाले विभिन्न समिति बनाई काम गर्दै आएका छौं । नगरको पहिचान नै धर्म, संस्कृति, जात्रा, भएकाले यसको संरक्षण, पहिचानमा नगरपालिका सधैं तत्परछौं ।’ पालिकाको पहिलो कार्य मानविय सेवा र दोस्रो परम्परागत कुरालाई निरन्तरता दिंदै सन्तुलित समाज निमार्ण र विकास गर्नु भएको उहाँले बताउनुभयो ।

जात्रा सञ्चालनका लागि लिच्छविकालदेखि गुठीको व्यवस्था गरिएकामा  हाल गुठी मासिएपछि गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेको अध्यक्ष महतले बताउनुभयो । जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारको गुनासो छ ।

 

 

प्रतिक्रिया दिनुहोस्