संघ र प्रदेश सरकारले स्थानीय तहमाथि थिचोमिचो गरेको छ:  खनियाबास पालिकाका अध्यक्ष तामाङ्ग

काठमाडौं, २७ चैत । धादिङ्गको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ्गले संघ र प्रदेश सरकारले स्थानीय तहमाथि थिचोमिचो गरेको बताउनुभएको छ ।
सोमबार बिहान रेडियो आहाको “आहा स्थानीय सरोकार” कार्यक्रममा बोल्दै अध्यक्ष तामाङ्गले स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि बजेट विनियोजन गर्दासमेत संघ र प्रदेश सरकारले समन्वय नगरी जबरजस्त गरेको बताउनुभएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतलगायत कर्मचारीको खतन–पटन, सरुवा तथा व्यवस्थापन गर्दा स्थानीय तहसँग सहकार्य र समन्वय नगर्दा धेरै समस्या आएको बताउनुभयो । उहाँले यसले गर्दा संघ र स्थानीय सरकारबीच द्वन्द सुरु भएको बताउनुहुँदै स्थानीय तहमा कर्मचारी सरुवामा एकलौटी निर्णय गरि पठाउँदा कर्मचारी र जनप्रतिनिधिबिच पनि विवाद हुने गरेको स्वीकार गर्नुभयो । जनप्रतिनिधिसँग समन्वय र जानकारी बिना आएका कर्मचारिलाई हाजिर गर्न नदिएको तामाङ्गले बताउनुभयो ।

अध्यक्ष तामाङ्गले संघ र प्रदेश सरकारलाई कर्मचारी सरुवा, खटनपटन मात्रै नभई बजेट विनियोजन गर्दा पनि समन्वय नगरेको आरोप लगाउनु भएकोछ । कहाँ कती र कुन स्तरको विकास गर्न आवश्यक छ भन्ने कुरा स्थानीय जनप्रतिनिधिलाई थाहा हुन्छ उहाँले भन्नुभयो, ‘हामीले सबै स्थानीय तहको भ्रमण र निरिक्षण गरेका हुन्छौं । आवश्यकता र उचित व्यवस्थापन पनि बुझेका छौं । त्यसैले संघ र प्रदेश सरकारले काम गर्दा स्थानीय तहसँग परामर्श र समन्वय गर्न आवश्यक छ ।’
उहाँले पटक /पटक सनुवाई गर्दा पनि केन्द्र र प्रदेश सरकारले स्थानीय तहको समस्यामाथि सुनुवाई नभएको बताउनुहुँदै आन्दोलनमा उत्रनु पर्ने वाध्यात्मक अवस्था आएको बताउनुभयोे ।

उहाँले पालिकाको भौतिक पूर्वाधारसँगै जनतामा चेतनाको विकास गर्नु पहिलो दायित्व भएको बताउनुभयो । यदि जनतामा चेतनाको विकास भएमा विकास र पूर्वाधार बन्दै जानेउहाँको दावीछ। भौगोलिक कठिनाई भएको हुँदा बोटो–घाटो/सडकको विकासले तिब्रता लिएता पनि धेरै समस्या भोग्नु परेको उहाँको बुझाई छ ।
उहाँले पालिकाको एक घर एक धारा नीति अभियान सफल भएको बतानुहुँदै खाने पानीको सबै समस्या समाधान भएको दावी गर्नुभयो ।

परिचय : धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित यस खनियाबास गाउँपालिका साविकका तिनओटा गाउँ विकास समितिहरु क्रमशस् दार्खा, झार्लाङ र सत्यदेवी मिलेर बनेको हो । यस गाउँपालिकाको पुर्वमा नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुबिभ्याली गाउँपालिका तथा दक्षिणमा नेत्रावती गाउँपालिका र नुवाकोट जिल्ला अवस्थित छन् ।

यस गाउँपालिकाको केन्द्र वडा नं। ४ स्थित दार्खामा रहेको छ, जून जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ३६ कि.मि. दुरीमा रहेको छ । खासगरि तामाङ समुदायको वाहुल्यता रहेको यस गाउँपालिकामा गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामि आदि जातजातिको समेत बसोबास रहेको पाईन्छ ।

भौगोलिक रुपमा अति दुर्गम तथा जटिल भू–बनोट भएता पनि यस गाउँपालिकामा जिल्ला सदरमुकाम धादिङबेसीदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरि कच्ची सडक निर्माण भईसकेको साथै गाउँपालिकाको अधिकांस वस्तीहरु पुग्ने गरि कच्ची सडकको समेत निर्माण भईसकेको छ । बर्खायाममा केहि समय बन्द हुने यस गाउँपालिकाका सडकहरु अधिकांस समय चालु अवस्थामा रहन्छन ।

कुल १२०।८ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको ५।५२५ भूभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार १२,७४९ जनसंख्या रहेको यस गाउँपालिकामा २०७५ सालको घरधुरी सर्वेक्षण अनुसार १३,९२२ जनसंख्या पुगेको पाईन्छ । जसमध्ये २९०२ घरधुरी संख्या रहेको यस गाउँपालिकामा १५२ घरधुरी मात्रै गैर जनजाति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्