यस वर्ष पनि विश्व क्षयरोग दिवस सप्ताहव्यापी रुपमा मनाइने
काठमाडौं, चैत ८ । २४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ। बुधबार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी सो बारेमा जानकारी गराएको हो ।
यस वर्षको विश्व क्षयरोग दिवस ‘हो हामी क्षयरोग अन्त्य गर्छौ ’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनले भने विश्व क्षयरोग दिवसको मुल नारा yes ! we can end TB ! तय गरेको छ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरी ६० लाख पुरुष , ३४ लाख महिला र १२ लाख बालबालिका गरि करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पिडित भएका थिए ।
क्षयरोग नियमित उपचारले निको हुने रोग भएता पनि सन् २०२१मा संसारभरी करिब १६ लाख मानिसको मुत्यु भएको अनुमान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा भने गत आर्थिक वर्ष २०७८/ ७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधि क्षयरोग पहिचान भएको थियो भने ६५१ जना मात्रै उपचारमा दर्ता भएका थिए ।
क्षयरोग अन्त्यका रणनितिलाई निर्देशक सिदान्त मानि पञ्चवर्षीय रणनितिक योजना २०७८/ ७९- २०८२/८३ तयार गरी कार्यान्वयन भइरहेको निर्देशक डा. नविन प्रकाश शाहले बताएका छन् । क्षयरोगको नियन्त्रणका लागि तिनै तहको सरकारसँग सहकार्य भइरहेको बताउँदै स्थानीयतहलाई यसको जवाफदेहिता बनाउदा प्रभावकारी रुपमा क्षयरोग नियन्त्रण हुने उनको भनाइ छ।।
सो रणनितिक योजनाले स्वास्थ्यसेवा प्रणालीको सुद्दढिकरण गरि स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तर क्षयरोगको विस्तार, मेडिकल कलेज, निजि स्वास्थ्य संस्था तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता प्राज्ञिक संस्थाहरुसँग साझेदारिको विकास ,७ वटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको स्थापना र क्षयरोग रोकथाम तथा उपचारसेवाको विस्तार , साथै स्वास्थ्य संस्थाहरुमा , क्षयरोगका बिरामीहरुको विस्तृत विवरणमा आधारित विद्धधुतिय निगरानी प्रणालीलाई सुद्दढिकरण गर्दै जाने जस्ता रणनीति अंगिकार गरेको डा. शाहले बताए ।यी रणनीतिहरुलाई प्रभाव रुपमा कार्यान्वयन गर्नका लागि १० वटा कार्यनितिहरु गरिएको जानकारी पनि उनले गराए ।
क्षयरोगका निवारणका लक्ष्यहरु हासिल गर्ने उदेश्यका साथ नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएको छ । आ . व २०७८/ ७९ मा २५ वटा स्थानीयतहमा क्षयरोगमुक्त अभियानका क्रियाकलापका कार्यक्रमहरु संचालन भएका थिए भने अब यो वर्ष थप १०० स्थानीयतहमा कार्यान्वयन गरिने भएको छ ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।यसले फोक्सोमा मात्र नभई शरीरको विभिन्न अंगलाई असर पार्न सक्छ ।
क्षयरोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा फोक्सोको क्षयरोग र अर्को फोक्सोबाहेकका अंगमा लाग्ने क्षयरोग । फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन् तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अंगमा पनि क्षयरोग हुन सक्छ । फोक्सोबाहेकका अंगमा भएको क्षयरोगको निदान तुलनात्मक रुपमा गाह्रो हुन्छ ।
नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् ।
यदि हड्डी वा हड्डीको जोर्नीमा क्षयरोग भएको खण्डमा यी माथिल्लो लक्षणबाहेक हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण देखिन्छ । त्यस्तै ग्रन्थिमा क्षयरोग भएमा ग्रन्थिमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन थाल्छन् ।
मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छ भने मुटुमा भए श्वास फेर्न गाह्रो हुने, थोरै हिंड्दा थकान महसुस हुने, स्याँ स्याँ हुने लक्षण देखिन्छ ।
हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन् । तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ । ग्रन्थिमा भए गाँठोको जाँच गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्