मानुषी लघुवित्त र शृजनशील लघुवित्तबीच मर्जर सम्झौता
काठमाडौं, चैत ३ । मानुषी लघुवित्त र शृजनशील लघुवित्तबीच मर्जर हुने भएको छ।
बिहीबार एक कार्यक्रम गरी दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा शृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको शृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरका संस्था हुन्।
समान चुक्ता पूँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा शेयर जारी गरि सकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा कारोबार समेत भइसकेको छ। मर्जर पछि संस्थाको नाम मानुषी शृजनशील लघुवित्त वित्तीय संस्था रहने गरि प्रस्ताव गरिएको छ।
कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३÷३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिने जानकारी दिइएको थियो। साथै मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको बताइएको थियो।
यस आ.व. को दोस्रो त्रैमास सम्ममा शृजनशील लघुवित्तले देशभर ३३ वटा शाखा मार्फत ४१ हजार ९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखामार्फत ३४ हजार ३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्