कस्तो रह्यो राष्ट्रपति भण्डारीको सात वर्षे कार्यकाल?

काठमाडौं, फागुन २८ ।  नेपालको दोस्रो राष्ट्रपतिको जिम्मेवारीमा दुई कार्यकाल ब्यतित गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आज आइतबार सकिँदै छ। राष्ट्रपतिको कार्यकाल दोहोराएकी भण्डारी शितलनिवासबाट बाहिरिने अन्तिम तयारीमा रहेकी छिन्।

चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्रं पौडेल बिहीबार निर्वाचित भएसँगै उनी शितलनिवासको भूमिकाबाट बिदा हुन लागेकी हुन्। सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै नवनिर्वाचित राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्ने छन्।

राजनीतिक रुपमा नेकपा(एमाले) की उपाध्यक्ष रहेकै समयमा राष्ट्रपतिमा पदासीन भएकी भण्डारीलाई पार्टीमा हालका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्थिन्। उनको सोही प्रवृत्ति पछिल्लो समय राष्ट्रपतिको भूमिकामा रहँदासमेत देखाएको भन्दै आलोचना हुने गरेको छ।

राष्ट्रपतिको पदमा रहँदा भण्डारीको कार्यकाल विवादरहित भने हुन सकेन। अघिल्लो कार्यकालमा खासै विवादमा नआएकी भण्डारीको दास्रो कार्यकालमा आलोचना योग्य रह्यो।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता भएर बनेको नेकपाकालमा भएको पार्टीको आन्तरिक शक्ति संघर्षमा उनको भूमिका निर्विवाद हुन नसकेको यथार्थता उनको भूमिकाले देखाउँछ।

राष्ट्रपति भण्डारीको भूमिका पछिल्लो नागरिकता विधेयकसम्म आउदा उल्लेख्य रुपमा विवादास्पद चरित्र प्रस्फुटित हुन पुग्यो। यद्यपि नागरिकता विधेयक रोकेर राष्ट्रपति भण्डारीले राष्ट्रको हितमा काम गरेको भन्दै प्रसंशा पनि भयो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन मध्यरातमा सदर गरेको विषय विवादरहित हुन सकेन। तर, उनको संवैधानिक दायित्वभन्दा बाहिर गएर गरिएको कार्य पदको गरिमा माथि आँच आउने कदमको रुपमा धेरैले व्याख्या गरे।

नेपालका हालसम्म राष्ट्रपतिको तीन कार्यकाल बहन गरेपनि राष्ट्रपति भण्डारीले दुई कार्यकाल राष्ट्रपतिमा पदासीन रहने सौभाग्य पाएकी थिइन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारीको श्रीमती रहेकी भण्डारी उनको रहस्यमय जीप दुघर्टनापछि राष्ट्रिय राजनीतिमा आएकी थिइन्।

एमालेका महासचिव रहेका भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद हाल एमालेको मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको छ।

यद्यपि जबज भनिने एमालेको संसदीय प्रजातन्त्र सीकार्ने उक्त सिद्धान्तको निर्माणमा तत्कालीन एमालेका अन्य नेताहरुको भूमिका रहेको समेत बताइन्छ । तर, त्यसको श्रेय हालसम्मै उनै मदन भण्डारीलाई नै जान्छ ।

उनै भण्डारीकी श्रीमती रहेकी निवर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल सकिने समयावधीमा उनको केही कामकारबाहीले भने उनको साख कायम राख्न सकेन।
तत्कालीन प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेको असंवैधानिक कदमलाई वैधता दिनु राष्ट्रपति भण्डारीको गम्भीर कमजोरी भएको आजपनि चर्चा हुने गर्दछ।

ओलीले दुई पटक सदन विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ लैजाने कार्यलाई प्र।य दिनु उनको संवैधानिक त्रुटि रहेको बताइन्छ।

संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपति पदको गरिमालाई कायम नराखेरै पार्टीभित्रको ओली पक्षधर कार्यकर्ताको रुपमा राष्ट्रपतिको भूमिका दर्शाएको उनको दुई कार्यकालले दलीय घेराभन्दा बाहिर रहेर सबैले अपनत्वबोध गर्न नसकेको देखिन्छ।

केही विवादित काम भएको भए पनि राष्ट्रपति भण्डारीको कार्यकालमा ठूला परिघटना नभएका कारण समग्रमा उनको कार्यकाललाई सन्तोषजनक रुपमा नै हेरिन्छ।

प्रतिक्रिया दिनुहोस्