राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सन्दीपको पुनरावेदन, १२ गते पेसी

काठमाडौ., फागुन ८।  राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।

विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् ।

नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।

उनी नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्रिकेट समर्थकहरूले सन्दीपलाई विदेशमा खेल्ने वातावरण बनाउन अदालत र क्यानसँग माग गर्दै आएका छन् ।

अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ । पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीपलाई गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले दिएको आदेशमा सन्दीपलाई नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ भने जाहेरवालीको परिवारलाई भेट्न, धम्की दिन वा प्रभावमा पार्न निषेध गरिएको छ । त्यसै गरी मुद्दाको सम्बन्धमा सामाजिक सञ्जाल लगायतमा लेख्न प्रतिबन्ध लगाइएको छ ।

त्यसै गरी आदेशमा उपत्यका छाड्नुपरेमा काठमाडौँ प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त दिइएको छ भने सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ । सर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत पुनः पक्राउ गरी थुनामा राख् सक्ने अदालतको आदेशमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्