फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने
काठमाडौं, फागुन ५ । सरकारले यही फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरुआत गर्ने भएको छ । औषधि खुवाईने जिल्लाहरुमा झापा, मोरङ, धनुषा, मोहत्तरी,सर्लाही, रौतहट, बारा,रसुवा, लमजुङ, पर्वत, बागलुङ कपिलवस्तु, दाङ र कैलाली रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १४ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि उक्त औषधि खुवाउने अभियान सुरु गर्न लागिएको आज पत्रकार सम्मेलन माफर्त जानकारी दिएको छ ।
नेपालका ६४ जिल्लामा संचालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकेको तर बाँकी १४ जिल्लामा औषधि खान योग्य सबैले नखाईदिनाले र हरेक दुई /दुई वर्षमा रगत जाँच गरि हेर्दा समेत यी जिल्लाका बासिन्दामा रोगको दर अपेक्षाकृत नघटेकाले फेरि पनि औषधि खुवाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
राष्ट्रिय हात्तीपाईले रोग निवारणका लागि आम औषत्रि सेवन कार्यक्रमको सम्पुर्ण जानकारी पत्रकार सम्मलेनमा गराएको थियो ।
हात्तीपाइले रोग संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारिरीकरुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरिरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।
दुई वर्ष उमेर नपुगेको बालबालिका, गर्भवती र सात दिनसम्म सुत्केरी तथा सिकिस्त विरामीले हात्तीपाइले रोग विरुद्धका ती औषधि सेवन गर्नु हुँदैन । औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता समस्या आउछन् ।
चिकित्सकहरुका अनुसार मुख्यगरी हात्तीपाइले रोगबाट बच्न वासस्थान वरिपरी सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरु अपनाउनु पर्ने र शरीरको कुनै अंग सुन्निन थाले रगत परीक्षण गराइहाल्नुपर्नेछ ।
हात्तीपाइले रोगबारे जानकारी
हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोईबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असरहरु देखिन्छन् जस्तै हात्तीपाइले र अन्डकोस सुनिने । यस्ता समस्याहरु एकपटक देखिसकेपछि निको पार्न सकिंदैन । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधी सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।
हात्तीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष संचालन गर्ने आम औषधी सेवन गर्ने कार्यक्रममा सहभागी भई आफ्नो जिल्लामा संचालनमा रहेसम्म लगातार हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने ।.
हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठुलो खालको सुन्निने, छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।
औषधि सेवनवाट हुने सामान्य (अवान्छीत) केहि असरहरु देखीएपनि नडराउनु पर्ने बताईएको छ । ज्वरो आउने,टाउको दुख्ने,रिङ्गाटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुन पेट दुख्ने, जस्ता सामान्य असरहरु देखिन सक्दछन । यस्तो अवस्था भएमा औषधि खाने व्यक्तिहरुले आफूमा हात्तिपाईले रोगको परजिवी भएको भन्ने वुझ्नुपर्दछ तर यस्तो भएमा विना उपचार यस्ता असरहरु १–२ दिनमा आफै ठिक भएर जाने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्