नेप्सेमा २१ अंकको गिरावट
काठमाडौं, फागुन ४ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो ।
गत शुक्रबार मौद्रिक नीति समीक्षासंगै ओरालो लाग्दै आएको बजारमा यस दिन पनि दोहोरो अंकको गिरावट जारी रहेको हो ।
बजार परिसूचक नेप्से २१ अंकले झरेर २ हजार ७० मा आएर थामियो । कारोबार थप घटेर डेढ अर्ब हाराहारीमा खुम्चियो ।
सबै समूह राताम्मे रहँदा उत्पादनमूलक समूह सबैभन्दा उच्च २ प्रतिशत बराबरले झर्यो । बाँकी पनि अधिकांश समूहमा १ प्रतिशत माथिको गिरावट आयो ।
बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५६ कम्पनीको ४७ लाख बराबर कित्ता शेयर १ अर्ब ६८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
पछिल्ला दिन उच्चदरले कमाउँदै आएको युनिलिभरका लगानीकर्ताले यस दिन सबैभन्दा बढी ६ प्रतिशत बराबर गुमाउँदा उत्पादनमूलक समूहमा भारी गिरावट आएको हो । घटेको बजारमा पनि सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशत बढी कमाए ।
प्रतिक्रिया दिनुहोस्