गीतकार ध्रुवप्रसाद अँगाईको ‘चिनारी’ बजारमा

काठमाडौं । गीतकार ध्रुवप्रसाद अँगाईको ‘चिनारी’ नामक गीति क्यासेट आजदेखि बजारमा आएको छ । राष्ट्रियता तथा माया प्रेमको भाव अभिव्यक्त रहेको उक्त क्यासेटमा नौवटा गीत समावेश गरिएको छ भने पाँचवटा गीतमा दृष्य तयार गरिएको छ ।

गायक नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, मनोजराज सिवाकोटी, अञ्जु पन्त, रामचन्द्र काफ्ले, जुनु राई, प्रमोद खरेल र चेतन सापकोटाले स्वर दिएका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ गीतकार रत्न शम्शेर थापाले क्यासेटको विमोचन गर्दै गीत राम्रो हुनका लागि रचना, संगीत र गायन पक्षको समन्वय हुनुपर्ने विचार व्यक्त गरे ।

वरिष्ठ गीतकार प्रा डा कृष्णहरि बरालले नेपाली संस्कृति तथा सुगम संगीतको विकासमा विभिन्न मुलुकमा छरिएका नेपालीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ गायक प्रेमध्वज प्रधान, गीतकार दिनेश अधिकारी लगायतले अम्गाँइका गीतमा नेपाली संस्कृति र जनजीवनको भावलाई समेटिएको विचार व्यक्त गरेका छन् ।

गीतकार अँगाईले स्रष्टाको सिर्जना विभिन्न तरिकाले चोरी हुने गरेकामा त्यसको संरक्षण गर्न माग गर्दै क्यासेटको बिक्री तथा रोयल्टीबाट आउने रकम गीत, संगीतको विकासका साथै सामाजिक कार्यमा खर्च गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्