नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई कारबाही हुन्छः स्वास्थ्यमन्त्री गिरी
काठमाडौं, माघ १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
न्यूनतम पारिश्रमिक पनि नदिइ नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताए।
आइतबार काठमाडौँमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहालीलाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल अनुगमन गर्ने बताए।
मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालसहितका स्वास्थ्य संस्थाहरुको नवीकरण नगर्नेदेखि लिएर संस्था नै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले नर्सहरुलाई अनलाइन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्