माया खोला हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो
काठमाडौं, माघ १३ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा पहिलो चरणमा आईपीओ बिक्री गरी कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन गरिसकेको छ ।
त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यो आईपीओ बिक्री अवधि छिटोमा माघ १७ गतेसम्म र ढिलो अवधि माघ २७ गतेसम्म तोकिएको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्