प्रभु बैंकको प्रमुख कार्यकारीमा पुन: अशोक शेरचन नियुक्त

काठमाडौं, माघ १३ । प्रभु बैंकलाई आठ वर्ष नेतृत्व गरिसकेका अशोक शेरचन पुन: चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन्।

बिहीबार बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई चार वर्षको लागि नियुक्त गरेको हो।

उनी २०७५ माघ १८ मा बैंकको सीईओ नियुक्त भएका थिए। हालै सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन्।

उनकै नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो।
२०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो।

सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले छाडेपछि कार्यवाहक सीईओको जिम्मेवारी अशोकले पाएका थिए।

त्यही वर्ष माघ २९ मा प्रभुले ग्रान्ड बैंक नेपाललाई गाभेको थियो। त्यति मात्रै होइन प्रभुले खारेजीमा गएको नेपाल विकास बैंकलाई प्राप्ति गरेको थियो। त्यसयता लगातार अशोक प्रभु बैंकको सीईओ छन्।

सेञ्चुरीलाई प्राप्ति गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ। मर्जपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्