एनआइसी एशिया बैंकले कमायो ३ अर्ब २७ करोड नाफा

काठमाडौं, माघ ८  । एनआइसी एशिया बैंकले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिसम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

जुन वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो।

बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ६६ अर्ब ६८ करोड रुपैयाँ पुर्‍याउन सफल भएको छ।

त्यस्तै, कुल निक्षेप संकलन ३ खर्ब ८ अर्ब ७० करोड रुपैयाँ पुर्‍याउन बैंक सफल भएको वित्तीय विवरणमा उल्लेख छ।

यसैगरी, बैंकको स्व–पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै, बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गर्न सफल भएको छ।

स्व–पुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको भनाइ छ।

कर्जा असुलीमा उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ३ लाख रुपैयाँभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ।

यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस्