आठ विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही, कसलाई कति जरिवाना ?
काठमाडौं, माघ ४ । नेपाल राष्ट्र बैंकले आठ विकास बैंक र चार फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १२ कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाही स्वरुप जरिवाना तिराएको हो ।
कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको छ । विपन्न वर्गको कर्जा शिर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ ।
त्यस्तै फाइनान्स कम्पनीहरुमा नेपाल, जानकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको छ ।
कारबाहीमा परेका सात विकास बैंकमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक (२ पटक) र सालपा विकास बैंक छन् ।
तीमध्ये कर्णाली डेभलपमेन्टलाई गत असारमा विपन्न वर्ग कर्जातर्फ कारबाही गरी १ लाख ५२ हजार ९ सय २९ रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्टलाई कर्जा निक्षेप अनुपातमा कारबाही गरी गत साउनमा २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार ४ सय ९३ रुपैयाँ तिराइएको छ ।
त्यस्तै सिन्धु विकास बैंकलाई साउन र भदौमा क्रमशः सोही शीर्षकमा कारबाही गरी १ लाख २६ हजार ३ सय ८४ र १६ लाख ९९ हजार १ सय ५१ रुपैयाँ, नारायणी डेभलपमेन्टलाई सोही शीर्षकमा साउनमा ४ लाख ६३ हजार ७ सय ९४ र भदौमा ५ लाख १६ हजार ३ सय ७ रुपैयाँ, सप्तकोशी डेभलपमेन्टलाई सोही शीर्षकमा साउनमा २१ लाख ८० हजार ६ सय ६३ र भदौमा २८ लाख ९७ हजार ३ सय ५४ रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।
यता कर्णाली डेभलपमेन्ट बैंकलाई चालू आवको पहिलो त्रैमासिकमा पहिलो पटक अतिवार्य मौज्दातमा ७ सय ६ रुपैयाँ र दोस्रो पटक ३२ हजार ९ सय ६९ रुपैयाँ हर्जना तिराइएको छ । सालपा विकास बैंकलाई सोही अवधिमा सोही शीर्षकमा ३ सय ५३ रुपैयाँ हर्जना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चार फाइनान्स कम्पनीलाई पनि पहिलो त्रैमासिकमा कारबाही गरेको छ। यसअनुसार नेपाल फाइनान्स लिमिटेडलाई कर्जा निक्षेप अनुपाततर्फ साउनमा १९ हजार ३ सय ३० र भदौमा १ लाख ६५ हजार ५ सय ८४ रुपैयाँ हर्जना लगाइएको छ ।
त्यस्तै जानकी फाइनान्सलाई पनि सोही सोही शीर्षकमा साउनमा ६ लाख ५५ हजार १ सय ९३ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ७ सय ९९ रुपैयाँ हर्जना तिराइएको छ । यता समृद्धि फाइनान्सलाई भदौमा ८० हजार ७ सय ४४ रुपैयाँ सोही शीर्षकतर्फ हर्जना गरिँदा प्रोग्रेसिभ फाइनान्सले पनि अनिवार्य मौज्दात शीर्षकमा २३ हजार १ सय ८८ रुपैयाँ हर्जना तिरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्