युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं, माघ २ ।  तीन जीवन बीमा कम्पनी युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्ने अन्तिम सम्झौता भएको छ ।

मर्जर सम्झौता पत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइमका पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरे ।

सम्झौताअनुसार युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर अनुपात १:१:१ कायम गरिएको छ । अर्थात हाल जुन कम्पनीको सेयर जति छ, मर्जरपछि बन्ने कम्पनीको सेयर पनि त्यति नै कायम हुनेछ ।

मर्जर सम्झौता अनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष रहने छन् ।

यस्तै युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण मर्जर पश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

सम्झौता अनुसार मर्जर सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु सम्पन्न गरी २०७९ चैतभित्र एकीकृत कारोबार गरी कम्पनीका शाखाहरु, कर्मचारी समायोजनका कार्यहरु समेत सम्पन्न गर्ने दाबी गरिएको छ ।

मर्जर सम्झौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तीन वटा कम्पनीहरु एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउँदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने जानकारी गराए ।

यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर सम्झौता सफल बनाउन प्राधिकरणको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्