सरकारद्वारा पुससम्म कुल बजेटको ३२ प्रतिशत खर्च
काठमाडौं, माघ २ । गत पुष मसान्तसम्म सरकारले ३२ दशमलव १३ प्रतिशत बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस मसान्तसम्ममा सरकारले ५ खर्ब ७६ अर्ब ३४ करोड ७६ लाख बराबर खर्च गरेको हो ।
चालू खर्च शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रूपैयाँ विनियोजन भएकामा ३८ दशमलव ४६ प्रतिशत अर्थात ४ खर्ब ५५ अर्ब १२ करोड ७० लाख खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
तर पूँजीगत खर्चको अवस्था भने दयनीय रहेको छ । अर्धवार्षिक समीक्षा अवधिसम्ममा १४ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । यो अवधिमा ५३ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवका लागि सरकारले पूँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट छुट्याएको छ।
त्यस्तै वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकोमा २९ दशमलव ४४ प्रतिशत अर्थात ६७ अर्ब ७६ करोड ५४ लाख रूपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्