प्रभु र सेञ्चुरी बैंकले सुरु गरे एकीकृत कारोबार
काठमाडौं, पुस २७ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। दुवै बैंक एक आपसमा गाभिएसँगै अहिले प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब रूपैयाँ पुगेको छ।
गाभिएपछि बैंकको नाम भने प्रभु बैंक रहनेछ। प्रभु बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब पुगेको छ। बैंकको कुल निक्षेप भने दुई खर्ब ८४ अर्ब रहेको छ। बैंकको कुल ऋण २ खर्ब ५३ अर्ब रहेको छ।
बैंकको कुल ग्राहक संख्या भने ३० लाखभन्दा धेरै रहेका छन्। प्रभु बैंकले मुलुकभरि ३६५ शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले मुलुकभरि ३०९ वटा एटिएम र ७२ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।
प्रभु बैंकका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाका सांसद देविप्रकाश भट्टचनले एकीकृत कारोबार थालेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै करिब आठ वर्ष अघि प्रभु फाइनान्स र सेन्चुरी कमर्सिलय बैंकबीच मर्जरको प्रस्ताव गरिएकोमा अहिले आएर मात्रै मर्जर गर्न सम्भव भएको बताए।
विगतमा किष्ट फाइनान्सले करिब ५ करोड अधिकृत पुँजी, करिब साढे ३ करोड चुक्ता पुँजीलाई बृद्धि गर्दै प्रभु बैंकको रूपमा कारोबार गर्दै आइरहेको थियो। आज आएर २३ अर्ब रूपैयाँ चुक्ता पुँजीसहित कारोबार सुरु गर्न सकेका छौं,’ उनले भने ‘यो निकै ठूलो उपलब्धि पनि हो।’
सांसद भट्टचनले एकीकृत कारोबार गरेपछि सबैमा आपसी समझदारी, भाइचारा सहयोगको वातावरणमा काम गर्न सबै कर्मचारीहरूलाई अनुरोध गरे।
प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले अनगिन्ती सम्भावनालाई सार्थकता प्रदान गर्दै फेरि अर्काे संभावनाको सहयात्रीलाई आफूमा समाहित गरेको बताए।
‘आजदेखि हामी अझ बृहत् र परिस्कृत स्वरूपमा यहाँहरूको उन्नति, प्रगति आरोह अवरोह एवं सफलता र समृद्धिको साक्षी बन्ने प्रण गर्दछौं।’ प्रभु बैंकले सेञ्चुरी बैंकलाई एक बराबर एकको अनुपात स्वाप रेसियोमा गाभेको हो।















प्रतिक्रिया दिनुहोस्