मेगा बैंकद्वारा कृषि व्यवसाय प्रवर्द्धन गर्न ‘किन्नि हो’ प्रालिसँग सम्झौता
काठमाडौं, पुस २४ । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरूको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्नि हो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौँको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्नि हो का अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो ।
किन्नि होसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरूलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
किन्नि हो का प्रमुख घिमिरेले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए ।
किन्निहोसँगको सम्झौता अन्तर्गत मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरूलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्