प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि
काठमाडौं, पुस २२ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो । दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ । दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन् ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् ।
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो ।
प्रभु बैंकले पनि आज सूचना जारी गर्दै एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनका लागि चार दिन सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।
बैंकले जारी गरेको सूचनाअनुसार आज राति १० बजेदेखि २६ गते बिहान १० बजेसम्म दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन् । प्रभु बैंकको चुक्ता पुँजी रु १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी रु नौ अर्ब ५५ करोड छ ।
प्रतिक्रिया दिनुहोस्