शेयर बजार १८ अङ्कले बढ्यो, ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं, पुस २१ । शेयर बजारको उकालो यात्रा आज बिहीवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कारोबार पनि रकम निकै बढेको छ । दुई सय ५९ वटा कम्पनीका एक करोड २५ लाख ८१ हजार कित्ता शेयर पाँच अर्ब चार करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड र रिडी हाइड्रोको २१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्