कांग्रेसमा अन्तर्घातका साढे चार सय उजुरी

काठमाडौं, पुस १५ ।  ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध अन्तर्घात गरेको आरोपमा कांग्रेसमा साढे चार सयजनाविरुद्ध उजुरी परेको छ । कांग्रेसका अनुसार ३६ जिल्ला, प्रदेश हुँदै ती उजुरी केन्द्रीय अनुशासन समितिमा आइपुगेका हुन् ।

समिति सदस्यसचिव प्रेम केसीका अनुसार आएका उजुरी अभिलेखीकरण गरेर राखिएको छ । बाँकी जिल्लाबाट भने उजुरी आउने क्रममा रहेको उनले जानकारी दिए । उजुरीका सम्बन्धमा समिति बैठकबाट निर्णय हुने उनले जानकारी दिए ।

केसीले कुन तहका नेताहरूमाथि र कस्ता प्रकृतिका उजुरी परेको भन्ने जानकारी नभएको बताए । सबै जिल्लाबाट उजुरी आइनसकेकाले एक महिनाको समय थप गरिएको छ । जिल्लाबाट सिफारिस हुने क्रममा कारबाही सिफारिस हुनेमा केन्द्रीय सदस्यदेखि तल्लो तहसम्मका नेता–कार्यकर्ता रहेका छन् ।

नेविसंघले पुस मसान्तभित्रै पूर्णता पाउने

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुुस मसान्तभित्रै पूर्णता दिइने भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार नेविसंघ केन्द्रीय कमिटीलाई पुस मसान्तभित्रै पूर्णता दिने तयारी थालिएको हो ।

अध्यक्ष शेर्पाका अनुसार क्रमिक रूपमा संगठन विस्तार, स्ववियु निर्वाचनको तयारी र नेविसंघको १२औँ महाधिवेशनको तयारीमा केन्द्रित गरिएको छ । यसका लागि पार्टी पदाधिकारी र नेविसंघका पूर्वअध्यक्षसँग परामर्श भइरहेको उनले जानकारी दिए ।

त्यस्तै, जिल्लामा संगठन विस्तारका लागि जिल्लाबाट नाम माग भइरहेको छ । हालसम्म १२ जिल्लाको संयोजक तोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्