कम्युनिष्टमा निर्विरोध, कांग्रेसमा चुनाव

काठमाडौं, पुस ६ । नयाँ जनादेश अनुसार राजनीतिक दलहरुले सरकार गठनको गृहकार्य गरिरहेका छन् ।

त्यसका लागि दलहरू संसदीय दलको नेता चयनमा केन्द्रित भएका छन् । संसदीय दलको नेता चयनमा कांग्रेस र कम्युनिस्ट पार्टीमा संसदीय दलको नेता चयनमा भने फरक–फरक दृष्य देखा परेका छन् ।

प्रतिनिधिसभामा ७८ सिट जितेर दोस्रो ठूलो दल भएको नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भए । उनलाई टक्कर दिने कोही तयार भएन । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गर्नुलाई स्वमं एमालेका नेताहरु जनवादी केन्द्रीयतासँग जोड्छन् ।

पार्टी अध्यक्ष र संसदीय दलको नेता फरक–फरक हुँदा पार्टीको आन्तरिक शक्ति सन्तुलन बिग्रने भएकाले पनि एमालेका ओलीको विकल्प देखा नपरेको उनीहरुको तर्क छ । अझ चुनावमा ‘मंसिर ४ ओली सरकारको नारा’ दिइएको थियो । संसदीय दलको नेता प्रधानमन्त्री हुने सामान्य बुझाइले पनि ओलीको विकल्पमा कोही खडा नभएको उनीहरुको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यहरुको शपथ पछि संसदीय दलको नेता चयन गर्ने भनेको छ । प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार दिउँसो १ बजेलाई तय भएको छ । ३२ सिट सहित तेस्रो ठूलो दलको रुपमा रहेको माओवादीमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा टक्कर दिने कोही छेनन् । माओवादीमा प्रचण्डको नेतृत्व एकछत्र झण्डै चार दशकदेखि छ । जनवादी केन्द्रीयताको अभ्यास माओवादीले अझ बढ्ता रुपमा गर्दै आएको छ । नेकपा एकीकृत समाजवादीले पनि अध्यक्ष माधव कुमार नेपाललाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि दलको नेतामा सर्वसम्मत चयन भएका छन् । तर, यी दुई दल कम्युनिस्ट पार्टी भने होइनन् ।

सबैभन्दा ठुलो दल कांग्रेसले भने संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाएर निर्वाचन कार्यतालिका नै बनाएर प्रक्रिया अगाडि बढाएको छ । चुनावी मैदानमा छन् – सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । यी दुई पुस्ताका हिसावले देउवा भन्दा थापा तेस्रो पुस्ताका नेता हुन् । समर्थक र प्रस्तावकहरू पनि उस्तै छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार शीर्ष नेताको साथ रहेको छ । एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई साथ दिने बताइसकेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै बसे ।

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन् । उनले मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका छन् । शीर्ष नेताहरुकै साथ पाएकाले सभापति देउवा नै संसदीय दलको नेता निर्वाचित हुनेमा उनी पक्षीय नेताहरु बताउँछन् ।

यता नेपाली कांग्रेस संसदीय दलको नेता चयनको मतदान सकिएको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको मतदानमा कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् ।केहीबेरपछि मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ । परिणाम पनि आजै आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्