संसदीय दलको नेता छान्न कांग्रेसले बनायो समिति, मंगलबार निर्वाचन हुनसक्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

‘बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाइली रहनु भएको छ,’ प्रवक्ता प्रकाशशरण महतले भने ।

त्यस्तै सातै प्रदेशमा दलको नेता र समितिको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छ । सातै प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने या समर्थन गर्ने या के–के विकल्प त्यहाँ उपलब्ध छन् । ती विषयलाई मध्यनजर राखेर सरकार बनाउने प्रक्रिया अघि बढाउन सबै दलहरुसँग समन्वय गर्ने र निर्देशन दिने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने निर्णय पनि गरेको छ । संविधानको व्यवस्था बमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएकोले गठबन्धन र अन्य दलहरुसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता महतले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्