आज दिउँसो तीन बजे श्वेतपत्र सार्वजनिक हुँदै

काठमाडौं । पूँजी बजारका लगानीकर्ताका लागि बहुप्रतिक्षित श्वेतपत्र अर्थमन्त्रालयले आज दिउँसो तीन बजे सार्वजनिक गर्ने भएको छ ।
श्वेतपत्रले हाल बैंकहरूमा देखिएको तरलता संकट समाधान गर्ने तत्कालिन उपायको खोजी कसरी गर्छ भनेर बैंक तथा वित्तीय संस्थाले ब्यग्रतापूर्वक हेरेका छन् । यसरी नै श्वेतपत्रमा निरन्तर घटेको सेयर बजारलाई बिश्वासमा लिएर के के कार्यक्रम आउँछ भन्ने विषय पूँजी बजारका आम लगानीकर्तामा चासो छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम आउने बताए ।

सरकारले श्वेतपत्र मार्फत स्थानीय, प्रदेश र संघीय सरकारबीच स्रोत बाँडफाँड र वितरणमा देखिएको समस्या तथा भविष्यमा चाल्नुपर्ने रणनीतिलाई पनि सम्बोधन गर्ने बताइएको छ ।

त्यस्तै बढ्दो व्यापार घाटा र विकास परियोजनाहरुमा लगानी विस्तार गर्ने विषयलाई पनि सम्बोधन गर्ने सरकारको तयारी छ । श्वेतपत्रमा बर्तमान सरकारले सत्ता सम्हाल्नु अघि मुलुकको अर्थतन्त्र कुन अवस्थामा थियो र अब कसरी अघि बढ्छ भन्ने बिषय उल्लेख हुनेछ ।

प्रतिक्रिया दिनुहोस्