टेलिकमका पुराना प्रिपेड र पोस्टपेड ग्राहकले निःशुल्क ई–सिम पाउने

काठमाडौं, मंसिर १२ । नेपाल टेलिकमले यही मंसिर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मुलुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ।

ई–सिम कम्पनीले गत भदौ ३१ देखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो।

हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरेहको जनाएको छ।

कसरी इन्स्टल गर्ने ई–सिम?

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने एकीन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान टेलिकमले ग्राहकलाई अनुरोध गरेको छ।

यसका लागि आफ्नो मोबाइलबाट स्टारह्यास०६ह्यास डायल गर्नुपर्छ। यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ। आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘एड मोबाइल प्लान’ वा ‘एड डेटा प्लान’ भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइनेछ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्दछ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्